Skip to main content
Prayatna Nepal Organization

राजधानीमा पहुँचयुक्त वेब प्रमाणीकरण सम्न्धी राष्ट्रिय कार्यशाला गोष्ठी गरियो

Prayatna Editor

Sharmila Bishowkarma

calendar_today January 16, 2023 folder News Coverage

२९ मंसिर २०७९ शर्मिला विश्वकर्मा, काठमाडौ

डिजिटल प्रविधि भनेको कुनै पनि कामलाई विभिन्न प्रविधिहरु प्रयोग गरेर छिटो छरितो तरिकाले सबैको पहुँचमा पुग्ने गरी आवश्यकता पुरा गर्ने एक माध्यम हो । विशेष गरी कुनै पनि सूचना वा जानकारीहरु सबैले सहज रुपमा प्राप्त गर्न सक्ने माध्यम नै पहुँचयुक्त प्रिविधि हो ।
पछिल्लो समयमा विश्वभरी नै तिब्रगतीले प्रविधिहरुको विकास भएको पाइन्छ । जसले गर्दा आवश्यक सूचनाहरु प्राप्त गर्ने प्रविधि सबै नागरिकहरुकफ अति नै आवश्यकता बनेको छ । यसै सन्दर्भमा अपाङ्गता भएका व्यक्तिहरुका लागि काम गर्न स्थापना भएको प्रयत्न नेपालले आज राजधानीमा ओपन सोसाइटीको सहकार्यमा पहुँचयुक्त वेब प्रमाणीकरण ( National Validation workshop on web Accessibility ) सम्बन्धी राष्ट्रिय कार्यशालाको आयोजना गर्यो ।
सो कार्यशालामा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष टिका दाहालले तिब्र रुपमा विकासको गति लिएको विभिन्न प्रविधिहरुमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्न नसकेको, सरकारी वेबसाइडहरु पनि अपाङ्गता मैत्री नभएको भन्दै सरकारी प्रविधिहरु अपाङ्गता मैत्री बनाउन राज्य संवेदनशिल हुनु पर्ने बताउनु भयो ।
त्यसै गरी एशिया प्यासिफिक इन्टरनेट गभरमेन्स फोरम ( Asia Pacific regional internet Governance Forum ) का उपाध्यक्ष आशीर्वाद त्रिपाठीले इन्टरनेटमा सबै नागरिकहरुको सहज पहुँच हुनु पर्ने भन्दै सूचना तथा प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुर्याउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।
सो छलफलमा डाईभर्स प्याट्रान्सका निर्देशक सागर प्रसाँइले नेपालमा पहुँचयुक्त प्रविधिको अवस्थाको (Prioritizing Digital accessibility for inclusive Development position paper on digital accessibility in Nepal ) विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । यसै क्रममा उहाँले पहुँचयुक्त प्रविधिका विषमा राष्ट्रिय स्तरमा बनेका ऐन कानून, नीति नियम तथा व्यवस्थाहरुको जानकारी गराउदै डिजिटल पहुँचयुक्तताको बारेमा प्रष्ट पार्नु भयो ।
उक्त कार्यक्रममा आयोजक संस्था प्रयत्न नेपालकी अध्यक्ष सरिता लामिछानेले आफ्नो संस्थाले सूचना तथा प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँचका लागि काम गर्दै आएको र यस विषयमा काम गर्ने क्रममा यस पटक सरकारी तथा नीजि निकायमा २० वटा वेबसाइडहरु र १० वटा एप्लिकेसनहरुको अडिट ( प्रमाणीकरण) गरेको र ती वेबसाइडहरु र एप्लिकेसनहरु अपाङ्गता मैत्री तथा दृष्टिविहिन मैत्री नभएको बताउनु भयो ।
प्रयत्न नेपालले आज राजधानीमा आयोजना गरेको पहुँचयुक्त वेब प्रमाणीकरण ( National Validation workshop on web Accessibility ) सम्बन्धी राष्ट्रिय कार्यशालाका प्रमुख अतिथि तथा राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले सबै सूचना तथा सञ्चार र प्रविधिहरुमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुर्याउनका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने भन्दै आफु आवद् कार्यलयको वेबसाइड पनि अबका दिनमा अपाङ्गता मैत्री बनाउने बताउनु भयो ।
यसै क्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व अध्यक्ष तथा एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक डा.विरेन्द्रराज पोखरेलले हाम्रो देशका अधिकांश वेबसाइडहरु तथा एप्सहरु अपाङ्गता मैत्री नहुदा अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक, सामाजिक, शैक्षिक चुनौतीहरुको सामना गर्न परेको भन्दै अबका दिनमा सबै प्रविधिहरु सबै नागरिकका लागि पहुँचयोग्य बनाइनु पर्ने कुरामा जोड दिनु भयो ।
कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका महासचिव सुगम भट्टराइले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र प्रयत्न नेपाल लगायत अन्य संघ संस्थाहरुले सूचना तथा प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुँच पुग्नु पर्ने भनेर वकालत गरेको भएता पनि हाम्रा प्रविधिहरु पूर्ण रुपमा अपाङ्गता मैत्री नभएको बताउनु भयो ।